तरकारी उत्पादनमा नेपालले धेरै ठूलो फड्को मारेको छ । उत्पादन र उत्पादन क्षेत्रफल बर्सेनि बढ्दै जाँदा पनि आयात परिमाण घट्न सकेको छैन ।
यहाँ जति तरकारी उत्पादन हुन्छ, त्यतिले अझै बजार माग धान्न सकेको छैन । स्थानीय उत्पादनले बजार माग धान्न नसक्दा वर्षैपिच्छे अर्बौं रुपैयाँ बराबरको तरकारी आयात हुँदै आएको छ । तर, नेपालबाट छिमेकी भारत, चीन लगायत देशमा करोडौंको तरकारी निर्यात पनि हुँदै आएको छ ।
सरकारी तथ्यांक केलाउने हो भने नेपालमा वार्षिक ४४ लाख टनसम्म तरकारी उत्पादन हुँदै आएको देखिन्छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तथ्यांकले मुलुकमा वार्षिक ४१ देखि ४४ लाख टनसम्म तरकारी उत्पादन हुने गरेको देखाउँछ । कृषि मन्त्रालयको तथ्यांक अनुसार आर्थिक वर्ष २०८०/८१ मा ४४ लाख ४० हजार टन तरकारी उत्पादन भएको छ । यस्तै २०७९/८० मा ४३ लाख ७६ हजार टन, २०७८/७९ मा ४१ लाख ५३ हजार टन, २०७७/७८ मा ३९ लाख ९३ हजार टन र २०७६/७७ मा ४२ लाख ७१ हजार टन तरकारी उत्पादन भएको थियो ।
यो तथ्यांकले पछिल्लो समय नेपालमा तरकारी उत्पादन बढ्दै गएको देखाउँछ । तरकारी उत्पादन बढ्दै जाँदा उत्पादन हुने क्षेत्रफल पनि बढ्दै गएको देखिन्छ ।
आव २०७६/७७ मा २ लाख ८१ हजार १ सय ३२ हेक्टर क्षेत्रफलमा तरकारी खेती गरिएको थियो । २०७७/७८ मा बढेर २ लाख ८४ हजार १ सय २१ हेक्टर पुगेको थियो । यस्तै २०७८/७९ मा तरकारी खेतीको क्षेत्रफल बढेर २ लाख ८९ हजार ८ सय ३९ हेक्टर पुग्यो ।
कति छ तरकारीको उत्पादकत्व?
कृषि मन्त्रालयको तथ्यांक अनुसार आव २०७६/७७ मा तरकारीको उत्पादकत्व प्रतिहेक्टर १४.०९ टन थियो । २०७७/७८ मा १४.०३ टन र २०७८/७९ मा तरकारीको उत्पादकत्व प्रतिहेक्टर १४.३३ टन रहेको तथ्यांकले देखाउँछ ।
तथ्यांक अनुसार २०७९/८० मा तरकारीको उत्पादकत्व प्रतिहेक्टर १४.४८ टन थियो भने २०८०/८१ मा १४.२४ टन प्रतिहेक्टर उत्पादकत्व छ ।
तरकारी उत्पादनको प्रदेशगत अवस्था
कोशी प्रदेशमा आव २०८०/८१ मा ५५ हजार २ सय ५ हेक्टर क्षेत्रफमा ८ लाख ५० हजार ३ सय ८४ टन तरकारी उत्पादन भएको छ । यस्तै मधेश प्रदेशमा १ लाख ९ सय ८ हेक्टर क्षेत्रफलमा १४ लाख २ हजार ३ सय ३५ टन तरकारी उत्पादन भएको तथ्यांकले देखाउँछ ।
Comments
Post a Comment